औपचारिकता भन्दा आवश्यकतामुखी सेवा: २१० जनालाई झुल वितरण

नवराज पौडेल कपिलवस्तु

सामान्यतया स्थानीय तहका औपचारिक कार्यक्रमहरूमा स्वागत सत्कार र नास्तामा खर्च हुने परम्परा नयाँ होइन। तर शिवराज नगरपालिका वडा नम्बर ३ ले यसपटक त्यो परम्परालाई चुनौती दिँदै खर्चको प्राथमिकता नै बदलिदिएको छ।
वडाले एकल महिला तथा पूर्ण अपाङ्ग व्यक्तिहरूलाई लक्षित गर्दै आयोजना गरेको सम्मान तथा प्रोत्साहन कार्यक्रममा नास्ता खर्च कटौती गरेर आवश्यक सामग्री वितरण गरेको हो।
कार्यक्रममा २१० जना एकल महिला तथा लक्षित वर्गलाई झुल वितरण गरिएको छ भने ४ जनालाई लौरो र १ जनालाई ह्वीलचेयर प्रदान गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए।


उनका अनुसार अन्य कार्यक्रमहरूमा नास्ता खुवाउने चलन रहे पनि यसपटक सोही खर्चलाई उपयोग गर्दै झुल खरिद गरी वितरण गरिएको हो। ह्वीलचेयर र लौरो भने किडार्क नेपालको सहयोगमा उपलब्ध गराइएको उनले बताए।
औपचारिकतामा खर्च हुने रकमलाई प्रत्यक्ष आवश्यकतामा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो,। वडा अध्यक्ष सापकोटाले भने। उनका अनुसार आगामी आर्थिक वर्षमा एकल महिला तथा फरक क्षमता भएका व्यक्तिहरूलाई रोजगारसँग जोड्ने कार्यक्रममार्फत आत्मनिर्भर बनाउने योजना रहेको छ।
कार्यक्रमकी प्रमुख अतिथि तथा महिला अधिकारकर्मी मिना परियारले शिवराज नगरपालिका–३ ले गरेको यो अभ्यासलाई स्थानीय शासनमा “व्यावहारिक परिवर्तनको संकेत” को रूपमा व्याख्या गरिन्। उनका अनुसार लक्षित वर्गका समस्या समाधानमा यस्ता पहल प्रभावकारी मात्र होइन, प्रेरणादायी पनि हुन्छन्।
“सामान्य देखिने यस्ता निर्णयहरूले समाजमा ठूलो परिवर्तनको सुरुवात गर्न सक्छ,” परियारले भनिन्। उनले एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सामाजिक सम्मान अभिवृद्धिमा आफू निरन्तर सहकार्य गर्न तयार रहेको पनि उल्लेख गरिन्।
स्थानीय तहले वितरणमुखी कार्यक्रमबाट माथि उठेर आवश्यकतामुखी सोच विकास गर्न थालेको संकेतका रूपमा यो कार्यक्रमलाई हेरिएको छ। सीमित स्रोतलाई प्रभावकारी रूपमा प्रयोग गर्ने यो अभ्यासले स्थानीय शासनमा नयाँ बहस समेत सुरु गरेको छ।
वडा कार्यालयले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। कार्यक्रम चनई स्वास्थ्य चौकीका प्रमुख जितेन्द्र बिसीको सञ्चालनमा सम्पन्न भएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ