चर्को गर्मीमा विद्यार्थीलाई राहत : रहतावल सामुदायिक वनबाट विद्यालयलाई पङ्खा सहयोग

चर्को गर्मीमा विद्यार्थीलाई राहत : रहतावल सामुदायिक वनबाट विद्यालयलाई पङ्खा सहयोग
कपिलवस्तु, शिवराज।
तराई–मधेशका जिल्लाहरू यतिबेला अत्यधिक गर्मीको चपेटामा छन्। बढ्दो तापक्रमका कारण विद्यालयका कक्षाकोठा समेत तातिन थालेपछि विद्यार्थीलाई अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन भइरहेको छ। विशेषगरी सामुदायिक विद्यालयका विद्यार्थीहरू गर्मीको प्रत्यक्ष असर भोगिरहेका बेला कपिलवस्तुको शिवराज नगरपालिकास्थित रहतावल सामुदायिक वन उपभोक्ता समूहले विद्यालयलाई पङ्खा वितरण गरेर राहत दिने प्रयास गरेको छ।
शिवराज नगरपालिका वडा नं. ३ र ५ मा कार्यक्षेत्र रहेको रहतावल सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वअन्तर्गत करिब एक लाख रुपैयाँ बराबरका ३५ वटा पङ्खा सामुदायिक विद्यालयहरूलाई हस्तान्तरण गरेको हो।


वनका अध्यक्ष उत्तम चौधरीका अनुसार शिवराज–३ स्थित आधारभूत विद्यालय, मदवालाई १० वटा तथा शिवराज–५ स्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई २५ वटा पङ्खा उपलब्ध गराइएको छ। “वन संरक्षण मात्रै होइन, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पनि सामुदायिक वनको भूमिका हुनुपर्छ भन्ने मान्यताअनुसार यो सहयोग गरिएको हो,” अध्यक्ष चौधरीले बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
चर्को गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामा बस्नै कठिन भइरहेको अवस्थामा प्राप्त सहयोगले विद्यालयलाई ठूलो राहत पुगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिपना पौडेलले बताइन्। “गर्मीका कारण बालबालिकाको पढाइमा असर परिरहेको थियो। यस्तो समयमा प्राप्त सहयोग निकै उपयोगी भएको छ,” उनले भनिन्।
विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीका अनुसार पछिल्ला दिनहरूमा बढ्दो तापक्रमका कारण शिक्षण–सिकाइ प्रक्रिया नै प्रभावित हुन थालेको थियो। “कक्षाकोठामा पङ्खा जडान भएपछि विद्यार्थी र शिक्षक दुवैलाई सहज वातावरणमा पढ्न–पढाउन मद्दत पुग्नेछ,” उनले बताए।
वडा नं. ५ का वडा अध्यक्ष नेत्र बेल्बासेले सामुदायिक वनले विद्यालयको आवश्यकता पहिचान गरेर गरेको सहयोग उदाहरणीय रहेको बताए। उनले स्थानीय संस्थाहरूले समुदायका समस्यासँग जोडिएर काम गर्दा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गरे।
सामुदायिक वनको यो पहलले वन संरक्षणसँगै सामाजिक विकासमा पनि सामुदायिक वनको भूमिका महत्वपूर्ण हुने सन्देश दिएको छ। बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र अध्ययन दुवै प्रभावित भइरहेका बेला गरिएको पङ्खा वितरणले विद्यालयमा अध्ययनको वातावरण सुधार्न मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ