शिवराजमा ९७५ घरधुरीलाई लालपुर्जा वितरण,
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले गाउँ ब्लकअन्तर्गतका ९७५ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको छ। नगरपालिका–५ स्थित चन्द्रौटा दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख अजय थापाले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्नुभयो।
यसपटक वडा नम्बर १, ४, ६, ८ र ११ का स्थानीयले लालपुर्जा प्राप्त गरेका हुन्। लामो समयदेखि आफ्नै जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा बैंकिङ सेवा, ऋण सुविधा, सम्पत्ति हस्तान्तरण तथा अन्य प्रशासनिक काममा समस्या भोग्दै आएका स्थानीय अब औपचारिक रूपमा जग्गाधनी बनेका छन्।
शिवराज नगरपालिकाका अनुसार यसअघि पनि करिब ६०० घरधुरीलाई लालपुर्जा वितरण गरिसकिएको छ। पछिल्लो वितरणसँगै नगरपालिकाबाट हालसम्म करिब १ हजार ५ सय ७५ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन्। बाँकी रहेका योग्य लाभग्राहीका लागि पनि नापजाँच तथा लालपुर्जा वितरणको प्रक्रिया निरन्तर अघि बढाइएको नगरपालिकाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अजय थापाले लालपुर्जा वितरण स्थानीय सरकारको महत्वपूर्ण उपलब्धिमध्ये एक भएको बताउनुभयो। उहाँका अनुसार लालपुर्जा यसअघि नै तयार भइसके पनि निर्वाचन आचारसंहिताका कारण वितरण प्रक्रिया केही समय रोकिएकाले नागरिकले ढिलो गरी पुर्जा प्राप्त गरेका हुन्। अब बाँकी रहेका नागरिकलाई पनि यथाशीघ्र लालपुर्जा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो।
लालपुर्जा प्राप्त गरेपछि लाभग्राहीहरूले अब आफ्नो जग्गामाथि पूर्ण कानुनी स्वामित्व कायम गरी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन, कृषि तथा व्यवसायमा लगानी गर्न, सम्पत्ति नामसारी तथा अंशबण्डा गर्न र अन्य सरकारी सेवा–सुविधा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।
नगरपालिकाले गाउँ ब्लकका वर्षौँदेखिका भूमि सम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राख्दै काम गरिरहेको जनाएको छ। स्थानीयले भने लालपुर्जा वितरणले दशकौँदेखिको अन्योल अन्त्य भएको र आफ्नो सम्पत्तिमाथि कानुनी अधिकार स्थापित भएको प्रतिक्रिया दिएका छन्।














