तीन महिनापछि सङ्गम बुढामगरको कुशको शव बनाएर अन्तिम दाहसंस्कार
कपिलबस्तु
रसुवामा आएको बाढीमा परी सम्पर्कविहीन भएका शिवराज नगरपालिका–९, शिवगढी बिजगौरीका सङ्गम बुढामगरको तीन महिनापछि कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको छ।
कामको सिलसिलामा रसुवास्थित घट्टेखोलामा निर्माणाधीन भेनस कन्स्ट्रक्सनको सुरुङ जलविद्युत् आयोजनामा केही महिनादेखि काम गर्दै आएका बुढामगर गत भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका थिए।
बाढीमा परेर सम्पर्कविहीन भएका उनको हालसम्म पनि कुनै खबर प्राप्त हुन सकेको छैन। उनी फर्केर आउने सम्भावना नरहेको निष्कर्षसहित आज मिति २०८३ मङ्सिर १२ गते स्थानीयवासी, परिवारजन, समाजसेवी, स्थानीय सरकार तथा प्रहरी प्रशासनको उपस्थितिमा विधिवत् रूपमा कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको हो।
तीन महिनासम्म आफन्तको प्रतीक्षामा बसेको परिवारले आज भारी मनका साथ परम्पराअनुसार अन्तिम संस्कार गरेको छ।














