कपिलवस्तुका होटल व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह: अवैध गतिविधि रोक्दै पर्यटनमैत्री सेवा दिनुहोस्

कपिलवस्तु । होटल तथा रेस्टुरेन्ट व्यवसाय सङ्घ कपिलवस्तुको अधिवेशनपछिको प्रथम बैठकमा सङ्घका अध्यक्ष पदम ढकालले सम्पूर्ण होटल व्यवसायीहरूलाई व्यवसायलाई मर्यादित, सुरक्षित र पर्यटनमैत्री बनाउन आग्रह गर्नुभएको छ।
अध्यक्ष ढकालले होटल व्यवसाय सञ्चालन गर्दा नैतिकता र कानुनी दायित्वलाई पूर्ण रूपमा पालना गर्नुपर्ने बताउँदै लागूऔषध कारोबार, चेलीबेटी बेचबिखन तथा मसाज, डिस्को र बारको नाममा हुने अवैध गतिविधि रोक्न सबै व्यवसायी सचेत हुनुपर्ने उल्लेख गर्नुभयो। पैसाको प्रलोभनमा परी यस्ता गैरकानुनी धन्दा सञ्चालन नगर्न उहाँले आग्रह गर्नुभयो।
उहाँले यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई पनि छुट नदिइने सङ्घको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकार, इलाका प्रशासन, वडा प्रहरी कार्यालय तथा समाजका सम्पूर्ण निकायसँग सहकार्य गरेर नराम्रा गतिविधि निर्मूल पारिने बताउनुभयो।
अध्यक्ष ढकालले कपिलवस्तु आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राम्रो खाना, गुणस्तरीय बास, सरसफाइ र आतिथ्यतामार्फत सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो। होटल व्यवसायीहरूलाई पर्यटन क्षेत्रको विकासमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै कपिलवस्तुलाई पर्यटनको आकर्षक गन्तव्य बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ