पाल्पामा प्रदेशस्तरीय सितोरियो करातेको ब्ल्याक बेल्ट ग्रेडिङ सुरु
नवराज पौडेल कपिलवस्तु ,,
तानसेन नगरपालिका ३ मा लुम्बिनी प्रदेशस्तरीय नेपाल सितोरियो कराते संघको आयोजनामा ब्ल्याक बेल्ट ग्रेडिङ तथा दीक्षान्त कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेशका १० जिल्लाबाट आएका करिब ३०० खेलाडी सहभागी छन्।
असार १४ गतेसम्म सञ्चालन हुने ग्रेडिङमा ब्ल्याक बेल्टका विभिन्न तहका खेलाडीको प्राविधिक दक्षता, अनुशासन, शारीरिक क्षमता र सीपको परीक्षण गरिनेछ। ग्रेडिङमा सफल हुने खेलाडीलाई दीक्षान्तमार्फत नयाँ तहको ब्ल्याक बेल्ट प्रदान गरिने लुम्बिनी प्रदेश सितोरियो कराते संघका अध्यक्ष सन्तोष सिंहले बताउनु भयो ।

कार्यक्रमको उद्घाटन तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ ले गमलामा पानी हालेर गर्नुभएको थियोे । उद्घाटनपछि उहाले खेलकुदले अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउदै पाल्पामा प्रदेशस्तरीय प्रतियोगिता तथा ग्रेडिङ कार्यक्रम आयोजना हुनु जिल्लाका लागि गौरवको विषय भएको उल्लेख गर्दै यस्ता गतिविधिले खेल संस्कृतिको विस्तार र खेलाडीको मनोबल अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । खेल र खेलाडीको हितमा नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनु भयो ।
कार्यक्रममा नेपाल कराते महासङ्घ पदमबहादुर बस्नेत ले करातेको विकासका लागि स्थानीय तहको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनु भयो । स्वयंसेवी प्रशिक्षकको व्यवस्थापन, क्षमता विकास र परिचालनका लागि स्थानीय सरकारले स्पष्ट नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ थियो। प्रशिक्षकलाई संस्थागत रूपमा प्रोत्साहन गर्न सके खेलाडी उत्पादनदेखि प्रतियोगिताको गुणस्तरसम्म सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेश सितोरियो कराते संघका अध्यक्ष सन्तोष सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मोहनीलाल थापा मगरले गरेका थिए। कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका प्रशिक्षक, रेफ्री, खेलाडी, अभिभावक तथा खेलप्रेमीको उल्लेख्य सहभागिता रहेको थियो।
प्रदेशस्तरीय ब्ल्याक बेल्ट ग्रेडिङले खेलाडीको प्राविधिक स्तर अभिवृद्धि गर्नुका साथै लुम्बिनी प्रदेशमा सितोरियो करातेको विकास, विस्तार र प्रतिस्पर्धात्मक क्षमतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।














