दुई कार्यकाल बित्दा पनि बनेन नगर प्रमुख कलाम हिँड्ने बाटो ।।

दुई कार्यकाल बित्दा पनि बनेन नगर प्रमुख हिँड्ने बाटो ।।
नवराज पौडेल कपिलवस्तु

स्थानीय सरकारको नेतृत्वमा दुई कार्यकाल बितिसक्दा पनि महाराजगन्ज नगरपालिकाको अवस्था भने फेरिन सकेको छैन। नगर प्रमुख अब्दुल कलाम दैनिक आवतजावत गर्ने नगरपालिकाको बाटोमै वर्षायाममा हिलाम्मे खाल्डा र पानीको ताल देखिन्छ। सडकको दुर्दशा यतिसम्म छ कि नगरपालिकाको कार्यालय पुग्ने सेवाग्राहीले विकासको अनुभूति गर्नुअघि सडकको सास्ती खेप्नुपर्छ।
खरेन्द्रपुर महाराजगन्ज सडक खण्ड अन्तर्रगत नगरपालिका कार्यालय जाने सडकका अधिकांश खण्डमा खाल्डाखुल्टी छन्। वर्षाको पानी खाल्डामा जम्दा सडक हो कि पोखरी छुट्याउन मुस्किल हुन्छ। कतिपय स्थानमा सडकको सतह भासिएको छ भने कतै ग्राभेल उक्किएर हिँड्नै कठिन छ।
शिवराज नगरपालिकाको सिमा क्षेत्र सकिन साथ सुरु हुने खाल्ट खुल्टी महाराजगन्ज सम्मनै पानी जमि दुईपांग्रे सवारीसाधनका चालकले पानीमुनिको खाल्डो नदेख्दा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय बताउँछन्।
समस्या सडकमा मात्र सीमित छैन। सडकछेउ र सार्वजनिक स्थानमा फोहोरका थुप्रा देखिन्छन्। फोहोर व्यवस्थापनको कमजोर अवस्थाले नगरको सौन्दर्य बिगार्नुका साथै दुर्गन्ध र प्रदूषणको समस्या बढाएको छ। नगरपालिकाको मुख्य कार्यालय आसपासकै क्षेत्रमा देखिने फोहोरको अवस्थाले नगरको सरसफाइ व्यवस्थापनमाथि नै प्रश्न उठाएको छ।
नगरवासीको प्रश्न छ—दुई कार्यकाल नेतृत्व गरिसकेपछि पनि नगर प्रमुख आफैं दैनिक हिँड्ने बाटो बनाउन नसक्ने हो भने नगरका टाढाका बस्तीका सडक कहिले बन्ने ?
नगरपालिकाको नेतृत्वले वर्षेनी विकासका योजना र बजेट प्रस्तुत गर्दै आएको भए पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने आधारभूत पूर्वाधारमा भने अपेक्षित सुधार नदेखिएको स्थानीयको गुनासो छ। सडक निर्माण, मर्मत र फोहोर व्यवस्थापनजस्ता आधारभूत विषयमै नगर नेतृत्व कमजोर देखिएको उनीहरूको आरोप छ।
“नगर प्रमुख र कर्मचारी दैनिक यही बाटो भएर कार्यालय पुग्नुहुन्छ। उहाँहरूले नै देख्ने सडकको अवस्था यस्तो छ भने सर्वसाधारणले कस्तो सास्ती भोगिरहेका होलान्?” राम दुलारे यादबले प्रश्न गरे।
वर्षायाम सुरु भएपछि सडकको समस्या झन् चर्किएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा सडकमा पानी जम्ने र सडक थप बिग्रिने क्रम जारी छ। नियमित मर्मतसम्भार नहुँदा सामान्य वर्षाले पनि सडकलाई थप जीर्ण बनाएको उनी बताउँछन्।


नगरवासीका अनुसार स्थानीय सरकारको मूल्यांकन ठूला भाषण र कागजी योजनाबाट होइन, नागरिकले दैनिक प्रयोग गर्ने सडक, खानेपानी, सरसफाइ र सार्वजनिक सेवाबाट हुन्छ। तर महाराजगन्जमा नगरपालिकाको कार्यालय पुग्ने सडककै अवस्था दयनीय रहनुले नगर नेतृत्वको प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको छ।
अब प्रश्न एउटै छ—दुई कार्यकाल बित्दा पनि नगर प्रमुखले आफू दैनिक हिँड्ने बाटो बनाउन नसकेको अवस्थामा महाराजगन्जका नागरिकले व्यवस्थित सडक र सफा नगर कहिले पाउने ?

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ