प्रश्नसँगै बढ्यो सोच्ने क्षमता, ज्ञानउदयका विद्यार्थी प्रथम

प्रश्नसँगै बढ्यो सोच्ने क्षमता, ज्ञानउदयका विद्यार्थी प्रथम

नवराज पौडेल कपिलवस्तु ,

शिवराज नगरपालिकाका तीन वडाका १० विद्यालयका विद्यार्थीबीच आयोजित कार्यक्षेत्रस्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञानउदय आधारभूत विद्यालय, सेमरी प्रथम भएको छ।
शिवराज नगरपालिका वडा नं. ४, १० र ११ अन्तर्गतका विद्यालयका कक्षा ४ र ५ मा अध्ययनरत ४० विद्यार्थी सहभागी प्रतियोगितामा दुर्गा भगवती माध्यमिक विद्यालय, नयाँ बस्ती दोस्रो, दुर्गेश नन्दनी आधारभूत विद्यालय, थुनिया तेस्रो र राष्ट्रिय आधारभूत विद्यालय, डकहिया चौथो भए।
प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तक र कक्षाकोठाभित्र सीमित नराखी प्रश्न गर्न, सोच्न, तर्क गर्न र आफूले जानेको कुरा आत्मविश्वासका साथ प्रस्तुत गर्न सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ। विभिन्न विषयमा सोधिएका प्रश्नको विद्यार्थीले उत्साहपूर्वक उत्तर दिएका थिए।
प्रतियोगितामा सहभागी विद्यार्थीका लागि जित वा हारभन्दा पनि ज्ञानलाई व्यवहारमा उतार्ने, अरूको कुरा सुन्ने, तत्काल सोचेर उत्तर दिने र प्रतिस्पर्धामार्फत आत्मविश्वास बढाउने अवसर महत्वपूर्ण बनेको आयोजकको भनाइ छ।


कार्यक्रमको अध्यक्षता स्थानीय अधिकार कार्यक्रमकी कार्यक्रम अधिकृत ममता मिश्राले गरेकी थिइन्। प्रमुख अतिथिमा राष्ट्रिय आधारभूत विद्यालय, डकहियाका प्रधानाध्यापक हिरा पोख्रेल थिए। कार्यक्रममा सहभागी विद्यालयका शिक्षक तथा स्थानीय अधिकार कार्यक्रमका कर्मचारीको उपस्थिति थियो।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा भएको प्रतियोगिता शिवराज नगरपालिकाको सहकार्य तथा एक्सनएड इन्टरनेसनल नेपालको सहयोगमा सम्पन्न भएको हो।
आयोजकका अनुसार यस्ता गतिविधिले विद्यार्थीलाई कक्षाकोठाको सिकाइलाई व्यवहारिक अभ्याससँग जोड्दै ज्ञानसँगै तार्किक क्षमता, आत्मविश्वास र नेतृत्व विकास गर्ने वातावरण सिर्जना गर्छ।
‘पढौँ, सिकौँ, सोचौँ उज्यालो भविष्य निर्माण गरौँ’ भन्ने सन्देशसहित प्रतियोगिता सम्पन्न भएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ