शिवराज५ मा निःशुल्क आँखा शिविर, ३४५ जनाले लिए सेवा

शिवराज नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजना तथा व्यवस्थापनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।

शिविरमा आँखा परीक्षणका क्रममा ३४ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन्। त्यस्तै, आँखामा गम्भीर समस्या देखिएका ४५ जना सेवाग्राहीलाई चस्मा वितरण गरिएको आयोजकले जनाएको छ।

शिविरले आर्थिक अवस्था कमजोर भएका तथा सहज रूपमा आँखा उपचारको पहुँचमा पुग्न नसकेका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको वडा अध्यक्ष नेत्रप्रसाद बेल्बासेले बताउनुभयो। उहाँले आगामी दिनमा पनि वडाबासीको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

कार्यपालिका सदस्य प्रेम सुनारले आँखा स्वास्थ्यप्रति नागरिकलाई सचेत गराउनुका साथै समयमै परीक्षण र उपचारको पहुँच पुर्‍याउन शिविर प्रभावकारी भएको बताउनुभयो। उहाँले स्थानीय नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर यस्ता सेवा तथा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर