शिवराजमा राष्ट्रिय जनमोर्चा को प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।
कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिको आयोजनामा प्रशिक्षण तथा शुभकामना भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिका अध्यक्ष मोहन विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सचिव केसरसिंह अदैले जेएनजी आन्दोलन तथा वर्तमान राजनीतिक परिस्थितिबारे प्रकाश पार्दै ठूला दलहरूले राष्ट्रिय जनमोर्चाको नीति र कार्यक्रमलाई नबुझी अपहेलना गरेको कारण देश अहिलेको जस्तो संकटमा परेको बताउनुभयो। उहाँले ठूला दलहरूले अब राष्ट्रिय जनमोर्चाको नारालाई स्वीकार नगरी राजनीतिक निकास सम्भव नहुने पनि उल्लेख गर्नुभयो।
कार्यक्रममा जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर विक, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्दबहादुर केसीलगायतका वक्ताहरूले देशको वर्तमान अवस्था र वैदेशिक हस्तक्षेपका बारेमा धारणा राखेका थिए।
सो कार्यक्रममा राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाका अध्यक्ष गोविन्द परियार, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला सचिव रामबहादुर बुढाथोकी, अखिल नेपाल जनजाति सम्मेलन शिवराज नगर समितिकी अध्यक्ष तारा घर्ती, मैतबहादुर सुनार लगायतको आतिथ्यता रहेको थियो।
विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा ३ नं क्षेत्रभित्र हालको राजनीतिक संकट र यसको समाधानबारे प्रशिक्षण तथा छलफल गरिएको थियो। सचिव अदैका अनुसार शिवराजमा ७ स्थानमा, विजयनगरमा २ स्थानमा, कृष्णनगरमा १ स्थानमा र महाराजगञ्जमा १ स्थानमा यस्ता कार्यक्रम आयोजना गरिने छन्।
आजको कार्यक्रम सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नागराज योगीले गर्नुभएको थियो।














