शिवगढी पर्यटन विकास संस्थाको १५औँ साधारण सभा सम्पन्न

शिवराज नगरपालिका वडा नं. ९ मा अवस्थित शिवगढी पर्यटन विकास संस्थाको १५औँ साधारण सभा शिवगढीको बानियाभारस्थित जनस्वास्थ्य भवनको सभाहलमा औपचारिक कार्यक्रमबीच सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामगोपाल थारु रहनुभएको थियो भने विशिष्ट अतिथिमा नेकपा (माओवादी) कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार विनोद लुइँटेल र इप्रका सुन्दरी डाँडा प्रमुख आदर्श गिरी रहनुभएको थियो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षक, विभिन्न संघ–संस्थाका अध्यक्षहरू तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी सह–सचिव सन्ध्या बुढाथोकीले गर्नुभएको थियो। मन्तव्य राख्दै प्रमुख अतिथि वडा अध्यक्ष रामगोपाल थारुले शिवगढी पर्यटन विकास संस्थाले पर्यटन प्रवर्द्धनका क्षेत्रमा राम्रो काम गरिरहेको बताउनुभयो। उहाँले शिवगढी मन्दिरमा भइरहेका चोरीका घटनाहरू नियन्त्रण गर्न तथा पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वन र स्थानीय सरकारको सहकार्यमा मन्दिर परिसरमा हेरालु/चौकीदारको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, स्थानीय सरकारबाट शिवगढी किल्ला तथा मन्दिरसम्म पुग्ने बाटो निर्माणका लागि १० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको र शिवगढी मन्दिर परिसरमा ५ लाख रुपैयाँ बराबरको देशकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा छिट्टै स्थापना गरिने जानकारी दिनुभयो।

विशिष्ट अतिथि तथा कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार विनोद लुइँटेलले आफू पनि यस संस्थामा कुनै समय सदस्य रहेर काम गरेको स्मरण गर्दै शिवगढी पर्यटन विकास संस्थाले शिवगढीको संरक्षण र विकासका लागि उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो। आउँदो फागुन २१ गते हुने निर्वाचनमा जनताको मनोभावना बुझेको प्रतिनिधि आफू भएकाले विजयी भई जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सबैको साथ र सहयोगको आग्रह गर्नुभयो।

त्यसैगरी, अर्का वक्ता सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक विक्रम केसीले स्थानीय बासिन्दाले शिवगढी किल्ला तथा मन्दिरको संरक्षण र प्रवर्द्धन गरे मात्र शिवगढीको समग्र विकास सम्भव हुने बताउनुभयो। पछिल्ला समयमा नयाँ धार्मिक स्थलहरू विकास हुँदै अघि बढिरहँदा ऐतिहासिक र मुख्य प्रवेशद्वारका रूपमा रहेको रमुवादह क्षेत्रको विकास पछाडि परेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो।

कार्यक्रममा मन्तव्य राख्दै शिवगढी पर्यटन विकास संस्थाका अध्यक्ष मालबहादुर घर्ती मगरले संस्थाले पर्यटन प्रवर्द्धनका लागि निरन्तर रूपमा राम्रो काम गरिरहेको बताउनुभयो। उहाँले शिवगढीका स्थानीय जनताले बालुवा बोकेर, ढुङ्गा बोकेर र बाटो खनेर पुर्‍याएको योगदानको स्मरण गर्दै सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ