रास्वपाको चेतावनी : “पार्टीको नाम दुरुपयोग गरेर हुने गतिविधि सह्य हुँदैन”
नवराज पौडेल चन्द्रौटा, कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवराज नगर समितिले पार्टीको नाम जोडेर भइरहेका विभिन्न अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको नाम दुरुपयोग गरी चन्दा संकलन, व्यक्तिगत स्वार्थ पूर्ति तथा नागरिकलाई भ्रममा पार्ने गतिविधि भएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न चेतावनी दिएको हो।
पार्टीले जारी गरेको विज्ञप्तिमा आम निर्वाचनपछि रास्वपाले नागरिकका जनजीविका, सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य तथा आर्थिक समृद्धिका सवाललाई प्राथमिकतामा राख्दै अभियानकै रूपमा काम गरिरहेको उल्लेख गरिएको छ। जनताको आशा र भरोसालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको दाबी गर्दै रास्वपाले पछिल्लो समय केही व्यक्तिहरूले पार्टीको नाम भजाएर गलत गतिविधि गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीको विचार, नीति र उद्देश्य विपरीत कुनै पनि गतिविधि स्वीकार्य हुँदैन।” पार्टीले आफ्नो नाम प्रयोग गरेर कसैले आर्थिक लाभ लिन खोजे, धम्की दिए, चन्दा उठाए वा कुनै प्रकारको गैरकानुनी गतिविधि गरे त्यसको जिम्मेवारी पार्टीले नलिने स्पष्ट पारेको छ।
रास्वपाले पार्टीको आधिकारिक निर्णय, कार्यक्रम र गतिविधि केवल सम्बन्धित समितिमार्फत सार्वजनिक हुने भएकाले अनधिकृत व्यक्तिका भनाइ वा गतिविधिमा विश्वास नगर्न आम नागरिकलाई आग्रह गरेको छ। साथै यस्ता घटनाबारे जानकारी भए सम्बन्धित निकाय वा पार्टी समितिलाई तुरुन्त सूचित गर्न अनुरोध गरिएको छ।
समितिले राजनीतिक दलप्रति नागरिकको विश्वास कमजोर बनाउने नियतले भइरहेका भ्रमपूर्ण प्रचार र चरित्र हत्या रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने जनाएको छ। “लोकतन्त्रमा आलोचना स्वाभाविक भए पनि बिना प्रमाण आरोप लगाउने, अफवाह फैलाउने र पार्टीको बदनाम गर्ने गतिविधिले सामाजिक सद्भाव नै खल्बल्याउँछ,” विज्ञप्तिमा उल्लेख छ।
रास्वपा शिवराज नगर समितिका सभापति बालकृष्ण पाण्डेय द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पार्टी सधैं विधि, पारदर्शिता र जनउत्तरदायी राजनीतिप्रति प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ।














