राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धभूमि नगर समितिको सभापतिमा संस्थापक सभापति कमल भट्टराई पुनः
सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ बडहरामा जेठ १४ र १५ गते सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनबाट भट्टराई पुनः नेतृत्वमा दोहोरिएका हुन्।
अधिवेशनले उपसभापतिमा बिक्रम खर्बिन्द्र, सचिवमा पवन थारु तथा उपसचिवमा हिमाल पन्थीलाई सर्वसम्मत रूपमा चयन गरेको छ। त्यसैगरी अन्य पदाधिकारी तथा सदस्यसहित १५ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डल संयोजक कासिराम पोख्रेलले जानकारी दिनुभयो।
दुई दिनसम्म चलेको अधिवेशनमा नगरका विभिन्न वडाबाट आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनमा संगठन सुदृढीकरण, पार्टी विस्तार तथा स्थानीय तहमा जनताको मुद्दालाई प्रभावकारी रूपमा उठाउने विषयमा समेत छलफल गरिएको बताइएको छ।
अधिवेशन पहिलो दिनमै सम्पन्न गर्ने तयारी भए पनि केही आकांक्षी नेताहरूलाई समेटेर सहमतिमै नेतृत्व चयन गर्ने प्रयासका कारण कार्यक्रम दोस्रो दिनसम्म लम्बिएको नवनिर्वाचित सभापति कमल भट्टराईले बताउनुभयो। उहाँले पार्टीभित्र सबैलाई समेटेर एकताबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यता वडा नम्बर ९ का केही पार्टी सदस्यहरूले भने नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका छन्। आफूहरूलाई सभापति र सचिवजस्ता महत्वपूर्ण पदमा प्रतिनिधित्व नगराइएको भन्दै उनीहरूले गुनासो गरेका हुन्
तर सभापति भट्टराईले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण साथीहरूलाई मिलाएर पार्टीलाई अगाडि बढाउने आफ्नो उद्देश्य रहेको बताउनुभयो। उहाँले बुद्धभूमिमा पार्टी संगठनलाई थप सशक्त, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।














