विश्वमञ्चमा कपिलवस्तुको आवाज, जलवायु सम्मेलनमा मेयर थापा

विश्वमञ्चमा कपिलवस्तुको आवाज, जलवायु सम्मेलनमा मेयर थापा
कपिलवस्तु —
विश्वका विभिन्न मुलुक सुख्खा, खडेरी र जलवायु परिवर्तनका बढ्दो असरबाट प्रभावित भइरहेका बेला कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मंगोलिया पुगेका छन्।
नेपालका नगरपालिकामध्ये शिवराज नगरपालिकाको प्रतिनिधित्व गर्दै थापा मंगोलियाको राजधानी उलानबाटारमा आयोजित ‘कप–१७’ कार्यक्रममा सहभागी भएका हुन्। अन्तर्राष्ट्रिय मेयर्स फोरमको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको मौलिक पहिचान झल्किने दौरा–सुरुवाल र ढाका टोपी लगाएर सहभागिता जनाएका छन्।

जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा देखापरेका सुख्खा, खडेरी, पानीको अभाव तथा वातावरणीय चुनौतीबारे छलफल र अनुभव आदानप्रदानका लागि सम्मेलन महत्वपूर्ण रहेको नगरप्रमुख थापाले बताएका छन्। स्थानीय तहले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अपनाइरहेका अभ्यास तथा आगामी रणनीतिबारे अन्तर्राष्ट्रिय मञ्चमा विचार राख्ने अवसरसमेत प्राप्त भएको उनले बताए।

“जलवायु परिवर्तनको असर कुनै एक देश वा क्षेत्रको मात्र समस्या होइन, यसको प्रभाव विश्वव्यापी रूपमा देखिएको छ,” थापाले भने, “स्थानीय तहबाट भइरहेका प्रयास, अनुभव र चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउन यस्ता मञ्च उपयोगी छन्।”
कार्यक्रममा सहभागिताको अवसर प्रदान गरेकोमा थापाले अन्तर्राष्ट्रिय मेयर्स फोरमप्रति आभार व्यक्त गरेका छन्। उलानबाटारका नगरप्रमुख तथा स्थानीय प्रतिनिधिले नेपाली प्रतिनिधिमण्डललाई न्यानो आतिथ्यता प्रदान गर्दै नेपालको मौलिक परम्परा, संस्कृति र रीतिरिवाजबारे चासो राखेकोमा पनि उनले धन्यवाद दिएका छन्।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मौलिक पोसाकमा प्रस्तुत भएका थापाले शिवराज नगरपालिका र समग्र कपिलवस्तुको प्रतिनिधित्व गर्दै स्थानीय तहमा जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरण संरक्षण र दिगो विकासका विषय उठाएका छन्।
जलवायु परिवर्तनको प्रभाव स्थानीय तहसम्मै प्रत्यक्ष रूपमा देखिन थालेको अवस्थामा अन्तर्राष्ट्रिय अनुभवलाई स्थानीय नीति तथा योजनासँग जोड्न सम्मेलनले सहयोग पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ