बाढीपहिरो पीडितका लागि शिवराजको ११ लाख सहयोग

बाढीपहिरो पीडितका लागि शिवराजको ११ लाख सहयोग
नवराज पौडेल कपिलवस्तु

नेपाल–चीन सीमावर्ती क्षेत्र तथा भोटेकोशीलगायतका नदीमा आएको विनाशकारी बाढीपहिरोबाट सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीसहितका जिल्लामा ठूलो जनधनको क्षति भएपछि कपिलवस्तुको शिवराज नगरपालिकाले पीडितको उद्धार तथा राहतका लागि ११ लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराउन जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट ९ लाख २० हजार रुपैयाँ र नगर विपद् व्यवस्थापन कोषबाट १ लाख ८० हजार रुपैयाँ गरी कुल ११ लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
नगर प्रमुख अजय थापाका अनुसार जनप्रतिनिधिको तीन दिन र कर्मचारीको एक दिनको पारिश्रमिकबाट ९ लाख २० हजार रुपैयाँ जुटाइनेछ। बाँकी १ लाख ८० हजार रुपैयाँ नगरको विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय भएको छ।
बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति नगरपालिकाले श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना जनाएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई तत्काल राहत र विस्थापित परिवारको सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न नगरपालिकाले आग्रह गरेको छ।
त्यसैगरी, प्राकृतिक विपद्मा परी शिवराज नगरपालिकाका स्थायी बासिन्दाको मृत्यु भएमा मृतकका हकवाला परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ नगद राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
बाढीपहिरोमा परी घाइते हुने नगरवासीका लागि नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क उपचार सुविधाबाहेक थप उपचार आवश्यक परेमा त्यसको खर्चसमेत नगरपालिकाले व्यहोर्ने निर्णय गरेको नगर प्रमुख थापाले जानकारी दिनुभयो।
“विपत्तिको समयमा पीडितको साथमा उभिनु स्थानीय सरकारको दायित्व हो। राहत र उद्धारमा सक्दो सहयोग पुगोस् भनेर जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट समेत रकम जुटाउने निर्णय गरेका छौं,” नगर प्रमुख थापाले भन्नुभयो।
नगरपालिकाले विपद्को यस कठिन घडीमा सबै नागरिक, संघसंस्था तथा सरोकारवाला निकायलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिलसमेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ