कपिलवस्तुको बुद्धनगरस्थित गेमि मिलि मगर समाज त्रिभुजद्वारा आयोजित दोस्रो भुमे नाम्क मेला आज भव्य रूपमा उद्घाटन गरिएको छ।
मगर समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित मेलाको उद्घाटन समारोह उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा स्थानीय मगर समुदायले आफ्नो मौलिक भेषभूषा, कला र संस्कृतिसहित आकर्षक झाँकी प्रदर्शन गरेका थिए।
साथै परम्परागत भुमे नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकहरूको विशेष ध्यान आकर्षित गरेको थियो। तीन दिनसम्म सञ्चालन हुने उक्त मेलामा विभिन्न रमाइला खेलकुद, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिने आयोजकले जनाएको छ।
मेलाले मगर समुदायको सांस्कृतिक पहिचानलाई थप उजागर गर्नुका साथै नयाँ पुस्तामा आफ्नो मौलिक संस्कृतिप्रति जागरण ल्याउने अपेक्षा गरिएको छ। उद्घाटन समारोहका प्रमुख अतिथि गोपाल थापा ले मगर समुदायको इतिहास, संस्कृति तथा भुमे मेलाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले समुदायको एकता र पहिचानलाई मजबुत बनाउने बताउनुभयो।
स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उद्घाटन समारोहले मेलालाई थप उत्साहपूर्ण बनाएको थियो। आयोजकका अनुसार मेलामा ठूलो संख्यामा दर्शक तथा सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।














