कपिलवस्तु — कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–९ अन्तर्गत रमुवादहमा माता सरस्वतीको मन्दिर निर्माण कार्य सुरु भएको छ। स्थानीय समुदाय र शिक्षकहरुको पहल आर्थिक संकलनमा निर्माण थालिएको मन्दिरलाई धार्मिक तथा शैक्षिक आस्थाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
मन्दिर निर्माणको काम सुरु भए पनि आवश्यक आर्थिक स्रोतको अभावका कारण निर्माण कार्यलाई निरन्तरता दिन समस्या भइरहेको छ। सीमित स्रोतसाधनका बीच स्थानीयवासी र शिक्षणकको सहयोगबाट निर्माण सुरु गरिएको भए पनि मन्दिरलाई पूर्णता दिन थप आर्थिक सहयोग आवश्यक रहेको जनाइएको छ।
माता सरस्वतीलाई विद्या, ज्ञान र शिक्षाकी देवीका रूपमा पूजा गर्ने भएकाले मन्दिर निर्माणपछि विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायका लागि धार्मिक एवं सांस्कृतिक महत्वको स्थल बन्ने विश्वास गरिएको छ।
निर्माण समितिले मन्दिर निर्माणमा सहयोग गर्न इच्छुक स्थानीयवासी, देश–विदेशमा रहेका रमुवादहवासी, समाजसेवी, व्यवसायी तथा विभिन्न संघसंस्थालाई आर्थिक तथा भौतिक सहयोगका लागि अपिल गरेको छ। सानो–ठूलो जुनसुकै सहयोगले पनि मन्दिर निर्माण कार्यलाई अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने समितिको भनाइ छ।
स्थानीयवासीले सबैको सामूहिक सहयोग र सहभागिताबाट माता सरस्वतीको मन्दिर निर्माण कार्य सम्पन्न गरी भावी पुस्ताका लागि धार्मिक तथा सांस्कृतिक सम्पदा निर्माण गर्न सकिने बताएका छन्।
मन्दिर निर्माणमा सहयोग गर्न इच्छुक महानुभावहरूले निर्माण समितिसँग सम्पर्क गरी आफ्नो इच्छाअनुसार सहयोग गर्न सक्नेछन्।















